बागलुङ, ४ असार– जिल्लाको गलकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा आफ्नै पाठ्यपुस्तक लागू गरेको छ । नगरपालिकाले चालु शैक्षिकदेखि आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गरेको हो ।
पालिकाका सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म ‘हाम्रो गलकोट’ नामक पाठ्यपुस्तक लागू गरिएको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले बताए । नगरपालिकाले स्थानीयस्तरका कला, सँस्कृति, रीतिरिवाज, परम्परा, चाडपर्व, स्थानीय सामग्रीहरु, जडीबुटी, मठमन्दिर सबै समेटेर पाठ्यपुस्तक तयार गरिएको छ । नगरपालिकाले गत वर्ष आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्न शैक्षिक व्यक्तित्वसँग परामर्श लिएको थियो ।
त्यसपछि पाठ्यपुस्तक निर्माणको लागि समिति तथा विभिन्न उपसमिति बनाएर तयारी गरिएको थियो । ‘अन्य स्थानीय तहले फरक फरक हिसाबले पाठ्यक्रम लागु गर्नुभएको छ, हामीले आधारभुत तहमा एकै पटक पाठ्यक्रम लागु गरेका हौं’ सापकोटाले भने ‘सबै कक्षाको पाठ्यपुस्तक एकै पटक तयार भएकाले समस्या रहेन् ।’ स्थानीय पाठ्यपुस्तकमा व्यवहारिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिइएको सापकोटाले बताए ।
पछिल्लो समय ग्रामीण भेगमा आधुनिकताले छोएसँगै परम्परागत पेशा, संस्कार, संस्कृति र सम्पदा हराउँदै जान थालेका छन् । नगरपालिकाले प्रकृतिदेखी संस्कृतिसम्मका बिषयलाई समावेश गरेर पाठ्यक्रममा चित्रण गरेको छ । नयाँ पुस्तामा नयाँ ज्ञान दिन पाठ्यक्रम उपयोगी रहेको सापकोटा बताउँछन् ।
स्थानीय पाठ्यक्रममा आधरित पाठ्यपुस्तकले शिक्षा सुधारलाई थप टेवा पुग्ने गलकोट नगरपालिकाको अपेक्षा छ । ६५ सामुदायीक बिद्यालय र दश संस्थागत बिद्यालयका सबै बिद्यार्थीले हाम्रो गलकोट पाठ्यपुस्तक अध्ययन गर्न थालेका छन् ।