१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

दव्ल्याङ पहिरो नियन्त्रण गर्न तत्काल अस्थायी र हिउँदमा पक्की संरचनाको काम थालिने


जनमञ्च संवाददाता
  • २५ असार २०८० , सोमबार

  • दव्ल्याङ पहिरो नियन्त्रण गर्न तत्काल अस्थायी र हिउँदमा पक्की संरचनाको काम थालिने

    तस्बिर : नारायण रिजाल
    बागलुङ, २५ असार– दव्ल्याङको पहिरो नियन्त्रण गर्न अस्थायी संरचना तयार गर्ने र हिउँदमा पक्कि संरचनाको काम थाल्न सरोकारवाला सहमत भएका छन् । आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पहिरो नियन्त्रणका लागि चासो देखाएको हो ।
    तीन बर्षदेखि बर्षामा बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुट्ने गरी बागलुङ नगरपालिका–१० गलुवाको दव्ल्याङमा खसेको पहिरोको अस्थायी नियन्त्रणका लागि बानपा र जैमिनी नगरपालिकाले तत्काल काम थाल्ने छन् । पक्कि संरचना निर्माणका लागि भने प्रदेश सरकार र संघीय सरकारसँग पहल गरिने भएको छ ।
    बैठकमा गण्डकी प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, बागलुङ र जैमिनी नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला कार्यालयका प्रमुख सहभागि थिए । उनीहरुले हरेक बर्षामा दुःख दिने गरेको पहिरो नियन्त्रणका लागि सबै सरोकारवाला एक भएर लाग्नुपर्ने बताए । पहिरो नियन्त्रणका लागि पहिलो चरणमा पानी व्यवस्थापनको काम थाल्न पहिरोको भौगर्भिक अध्ययन गरेको ‘एक्सप्लोलर जियोलोजिक कन्सल्टेन्सी’ले सुझाव दिएको छ ।
    पहिरोमा पानी मात्रै तर्काउँदा ५० देखि ७० प्रतिशत समस्या समाधान हुने पहिरो नियन्त्रणका लागि आवश्यक अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेबारी पाएको कन्सल्टेन्सीले सुझाव दिएको हो । गण्डकी सरकारले उक्त कन्सल्टेन्सीलाई भौगर्भिक अध्ययन गरी प्रतिवेदनका लागि जिम्मेबारी दिएको थियो । पहिरोको दिर्घकालिन समाधानका लागि भने बिभिन्न नौ चरणका काम गर्नुपर्ने कन्सल्टेन्सीले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
    ७ सय मिटर लामो र १ सय ३५ मिटर फराकिलो पहिरो १५ देखि १८ मिटर गहिरो भएर बगेको प्रतिवेदनमा उल्लेख छ । पहिरोकै कारण जम्मा भएको पुरुवा माटोमा सडक बनाउने र बर्षायामको पानीको उचित व्यवस्थापन हुन नसकेका कारण पहिरो सुरु भएको प्रतिवेदनमा उल्लेख छ ।
    पहिरो नियन्त्रणका लागि पाईल फाउण्डेसनसहित पिल्लर हाल्ने, तार जाली लगाउने, मेसिनरीवाल लगाउने, पानी व्यवस्थापन गर्ने, पानी बग्ने पक्कि संरचना बनाउने र इकोप्लानिङ गर्ने सुझाव पेश गरिएको छ । प्रारम्भिक प्रतिवेदन अनुसार पहिरो नियन्त्रण गर्न ५ करोड, ४८ लाख ९३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
    अहिले पहिरो बगिरहेको सतहभन्दा १३ देखि २५ मिटरभित्र मात्रै पथ्थर रहेकाले पाईल पिल्लर नहालेसम्म पहिरो नियन्त्रण असम्भव रहेको कन्सल्टेन्सीका प्रतिनिधि उमेशचन्द्र भुसालले बताए । कन्सल्टेन्सीले ३ सय एमएम डायमिटरका ४७ वटा पायल पिल्लर राख्न सुझाव दिएको छ । बागलुङको मालढुङ्गा–गलुवा–पाग्जा–बलेवाहुँदै कुश्मिसेरा जाने सडक अन्तर्गतको गलुवाको ठूलो पहिरो नियन्त्रण गर्न बिभिन्न क्षेत्रबाट पहल भैरहेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend