२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

संसारकै उत्कृष्ट चार्ली चाप्लिनका २ फिल्म युट्युबमा


प्रभाकर गौतम
  • ९ पौस २०७८ , शुक्रबार

  • संसारकै उत्कृष्ट चार्ली चाप्लिनका २ फिल्म युट्युबमा

    हेर्नु, देख्नु वा महसुस गर्नु अलग कुरा हुन्। चार्ली चाप्लिनका फिल्मले हामीलाई मान्छे र हामी बाँचेको संसारलाई नजिकबाट महसुस गर्ने अवसर दिन्छ। बितेको समयलाई फर्केर हेर्ने नजर पनि दिन्छ।

    संसारकै ख्तातिप्राप्त हाँस्य कलाकार चार्ली हँसाउने विषय छनोटमा भने गम्भीर थिए। त्यसैले उनका फिल्मका कथा, पात्र र परिवेश रमाइलोका लागि मात्र हेर्ने विषय बनेन। तत्कालीन अर्थ-राजनीतिले व्यक्ति र समाजमा पारेको प्रभावलाई चार्लीले हाँस्य व्यंग्यमार्फत् यति सशक्त रूपमा देखाए कि मानिस हाँस्दैहाँस्दै रोए। रुँदैरुँदै हाँसे।

    बाल्यकालदेखि अभाव र गरिबीसँग जुधेका चाप्लिनमा हाँस्य-व्यंग्यद्वारा आममान्छेको जीवन संघर्ष चित्रण गर्ने अद्भूत शैली थियो। यही शैलीका माध्यमबाट उनले आममानिसका कथा-व्यथा देखाए।

    उनको कला फगत मनोरञ्जनका लागि मात्र थिएन। तिनमा सामाजिक तथा राजनीतिक विसंगतिप्रतिको असन्तुष्टि पनि थियो। बहुप्रतिभाशाली चार्लीले फिल्ममा अभिनयका अलावा कुशलतापूर्वक निर्देशन, फिल्म निर्माण, पटकथा लेखन, सम्पादनलगायत काम गरे। यस्तै विशेषताले उनलाई संसारकै अब्बल कलाकार बनायो।

    आज रंगीन थ्रिडी/फोरडीको जमानामा पनि उनका कथा र फिल्मको सादगी सान्दर्भिक लाग्छ। श्यामश्वेत जमानामा संवाद र ध्वनिबिनै हाउभाउ र अभिनयका माध्यमबाट उनले जीवनका अनेक रङ चित्रण गरे।

    १६ अप्रिल १९८९ मा बेलायतको लन्डनमा जन्मेका चार्लीको ८८ वर्षको उमेरमा २५ डिसेम्बर १९७७ मा निधन भएको थियो। उनी बितेको भोलि शनिबार ४४ वर्ष पूरा हुन्छ।

    ‘द ग्रेट डिक्टेटर’, ‘सिटी लाइट्स’, ‘मोडर्न टाइम्स’, ‘गोल्डरस’, ‘सर्कस’ आदि उनका मुख्य फिल्म हुन्। यही सन्दर्भमा यहाँ उनका दुई महत्वपूर्ण फिल्म ‘द ग्रेट डिक्टेटर’ र ‘सिटी लाइट्स’ बारे चर्चा गरिएको छ।

    सिटी लाइट्स (१९३१)

    सिटी लाइट्सको कथा चार्लीले सन् १९२८ मा सुरू गरेका थिए। योभन्दा एक वर्षअघि पहिलो साउन्ड फिल्म ‘द ज्याज सिंगर’ सार्वजनिक भइसकेको थियो। तर चार्लीले साइलेन्ट फिल्म नै बनाए।

    उनी सिटी लाइट्सका निर्माता, निर्देशक, मुख्य अभिनेता, पटकथा लेखक, सम्पादक, र संगीतकार हुन्। उनलाई यो फिल्म सक्न लामो समय लागेको थियो।

    तीन वर्ष लगाएर उनले सकाएको यो फिल्म सार्वजनिक हुने बेला साइलेन्ट फिल्म इतिहासको कुरा बन्न लागिसकेको थियो। तर चार्लीको क्षमता र क्रेजले गर्दा सिटी लाइट्स त्यस बेलाको मात्र नभएर आज ९० वर्षपछि पनि संसारकै उत्कृष्ट फिल्ममा गनिन्छ।

    फिल्ममा संवाद नभए पनि पृष्ठभूमि संगीत र केही टेक्स्टको प्रयोग भएको छ।

    बिन्दास ट्रयाम्प चरित्र चार्लीको पहिचान हो। जसमा हाँस्य-व्यंग्य र करुणा-संवेदनाको मिश्रण भेटिन्छ। फिल्ममा सहरका सडकमा भौतारिँदै हिँड्ने चार्लीले एकदिन फूल बेच्ने गरिब युवतीलाई देख्छन्। आँखा नदेख्ने ती युवतीलाई उनी देख्दैनन् मात्र, महसुस पनि गर्छन्। बिस्तारै उनी युवतीप्रति आकर्षित हुन्छन्। युवतीले पनि चार्लीको साथलाई महत्व दिन्छिन्।

    युवतीलाई चार्ली धनी युवक भन्ने भ्रम परेको हुन्छ तर गरिब चाप्लिन अनेक उल्झनमा अल्झिएका हुन्छन्।

    ती उल्झनलाई सुल्झाउँदै के चार्ली युवतीको युवतीले आँखाको शल्यक्रिया गराउन सफल होलान्?

    युवतीले चार्लीबारे जति यथार्थ बुझ्दै जान्छिन् तपाईंलाई यो फिल्म उति नै मन पर्दै जानेछ। आज पनि सिटी लाइट्सलाई समीक्षकरूले संसारकै उत्कृट फिल्मको सूचीमा राखेका छन्। यो व्यवसायिक रूपमा पनि सफल फिल्म हो।

    द ग्रेट डिक्टेटर (१९४०)

    ‘द ग्रेट डिक्टेटर’ चार्लीको पहिलो पूर्ण साउन्डसहितको फिल्म हो। जर्मनीका एडल्फ हिटलर, यहुदी विरोधी नाजी अत्याचार र फाँसीवादमाथि व्यंग्य गरिएको यो फिल्म तत्कालीन समयको राजनीतिक दस्तावेज पनि हो। फिल्मले दोस्रो विश्वयुद्धको प्रारम्भिक चरणको परिवेश समेटेको छ।

    फिल्ममा चार्ली क्रुर फाँसीवादी शासक हिटलर र नाजीबाट प्रताडित यहुदी नाईको दोहोरो भूमिकामा देखिन्छन्।

    दोस्रो विश्वयुद्धको सन्दर्भमा हिटलरमाथि कटाक्ष गरिएकाले हिटलरप्रति सहानुभूति राख्ने र विवादमा फस्न नचाहने केही देशमा यो फिल्म प्रतिबन्धित थियो। तर व्यवसायिक रूपमा फिल्मलाई दर्शक पाउन गाह्रो भएन। फिल्म व्यवसायिक रूपमा सफल रह्यो।

    राजनीतिक व्यंग्यले भरिएको यो फिल्ममा हिटलर बनेका चार्लीको चरित्र निकै चर्चित छ। फिल्मको अन्तमा घृणा र निरंकुशताको विपक्षमा अनि मानवताको पक्षमा एउटा लामै भाषण छ जसलाई फिल्म इतिहासकै मार्मिक एकालापका रूपमा लिइन्छ।

    ओस्कर अवार्डको पाँच विधामा मनोनित यो फिल्मबाट चार्ली उत्कृष्ट अभिनेताका रूपमा मनोनित भएका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend