प्रतिकात्मक तस्बिर
बागलुङ, १५ साउन– बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले लामो समय शुल्क नतिरेका खानेपानीका धारा काटिने बताएका छन् । नगरपालिकाले गठन गरेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीलाई स्वागत गर्न आयोजित कार्यक्रममा सुधारका काम देखिने गरी थाल्न आग्रह समेत गरे ।
उनले छिमेकी जिल्लाका अनुभव बटुल्ने, शुल्क नतिरेका धारा काट्ने, आर्थिक पारदर्शीता राख्ने र खानेपानीको दिगो व्यवस्थापन गर्ने गरी काम गर्न पनि आग्रह गरेका थिए । आइतबार श्रेष्ठले समितिका संयोजक जयराम भारी सहितका सदस्यलाई खादा लगाएर स्वागत गरेका थिए ।
उक्त अवसरमा समितिका अध्यक्ष भारीले कार्यालयमा अस्तव्यस्तता रहेकोले एक जना सहयोगी राखेर सरसफाइ थालेको र कैलमपोखरीको लिफ्ट खानेपानी आयोजना संचालनका लागि काम भैरहेको बताए । त्यसका लागि प्रहरी र सेनाका जवानको सहयोग लिएर पाइपलाईन जोड्ने काम भएको उनले बताए ।
लामो समयदेखि उपभोक्ता संस्थामार्फत काम भएपनि आम नागरिकलाई पानी खुवाउने मुख्य जिम्मा नगरपालिकाको भएकोले पुरानो समिति भंग गरेर नयाँ तदर्थ समिति गठन गरिएको थियो । शुद्ध पानी खुवाउने राज्यको जिम्मा हुने प्रावधानलाई टेकेर नगरपालिकाले तदर्थ समितिमार्फत काम गर्न लागेको हो ।