बागलुङ, २ भदौ– ढोरपाटन दैनिकको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वार्षिकोत्सव उद्घाटन गरेका थिए । उनले पत्रकािरताको मुलबाटोमा बाटो नविराइ लाग्न आग्रह गरे । उनले नेतृत्वदायी संचार संस्थाले समाजलाई सकारात्मक बाटोमा हिंडाउने गरी समाचार र बिचार पस्कनुपर्ने बताए ।
उनले एकाध घटनाले नेपालको पत्रकारितामा आएको नकारात्मक धारणा परिवर्तन गर्न सक्नुपर्ने समेत बताए । ‘पत्रकारिताले सकारात्मक सन्देशको मिसन बनाओस’ उनले भने, ‘खवरदारी गर्न पनि नछाडोस्।’ समाजमा निरन्तर सेवा गरेका कर्मबीरको कथा लेखेर समाजलाई दिशाबोध गरेको उनले बताए । साथै यो वार्षिकोत्सवको अंक बिषेशांक मात्र नभइ ऐतिहासिक दस्तावेज हुने बताएका थिए । यो काममा ढोरपाटन दैनिकले धेरै क्षेत्रका कर्मबीरलाई समावेश गरेको बताए । उनले धेरै पात्र अझै छुटेका छन्, तर छनौट गरेर प्रतिनिधिपात्रको कथा सम्पादन गर्ने काम चानेचुने नभएको उनको भनाइ थियो ।
महानगर प्रमुख आचार्यले वार्षिकोत्सवको अबसरमा आफ्नो बिगत पनि सम्झेका थिए । उनले पोखरा सन्देश प्रकाशित गरेर ५१ अंकपछि अन्य पेशामा लागेको स्मरण गरेका थिए । उनले शुरु गरेका कामलाई निरन्तरता दिन सक्ने बन्नु सफलताको सूचक भएको पनि बताए । ‘हाम्रो जीवनमा चाहे पढाइ होस् वा चाहे आफ्नो अन्य काममा निरन्तरता भयो भने सफलतामा पुगिन्छ’ आचार्यले भने, ‘हरेक सफलताको पछाडि निरन्तरता र संघर्ष लुकेको हुन्छ ।’ ढोरपाटन दैनिक पनि लामो संघर्ष र निरन्तरताको प्रतिक भएको उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य गोबिन्द नेपालीले व्यवस्थापन बदल्न संचार माध्यमले खेलेको भूमिका जस्तै अब आम नागरिकको अबस्थामा परिवर्तन गर्न पनि काम गर्नुपर्ने बताए । उनले २०६० सालमा स्थापित ढोरपाटनले धेरै आरोह अबरोह खेपेर अहिलेको २१ औं वार्षिकोत्सवमा आएको बताए । उनले नेपालको राजनीति सुधारगर्न ढोरपाटनले सकारात्मक भूमिका खेलोस भनेर शुभकामना दिएका थिए । उनले आँफू प्रति पनि फर्केर हेर्ने बानी गरियो भने पत्रकारिता क्षेत्रका विकृति पनि सुधार हुँदै जाने बताएका थिए ।
ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, सहसम्पादक तारानाथ आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, पूर्व सदस्यहरु धनन्जय दवाडी, इन्द्रलाल सापकोटा, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष बिजय रानाले ढोरपाटनको २१ औं वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य गर्दै ढोरपाटन दैनिका प्रधानसम्पादक हरिनारायण गौतमले २०६० सालदेखि थालेको अभियानले धेरै उतारचढाव पार गर्दै अहिलेको अवस्थामा आएको बताए । उनले बागलुङबाट शुरु भएपनि प्रदेशको यात्रामा आएको ढोरपाटनलाई सफल बनाउन योगदान गर्ने पत्रकार सहित सबै शाखाका सदस्यको योगदानलाई प्रसंसा गरेका थिए । उनले आगामी दिनमा पनि पत्रकारिताको बिकासमा काम गर्ने प्रतिवद्दता जनाएका थिए ।
चार जना सम्मानित
कार्यक्रममा ढोरपाटन दैनिकको समाचार, स्तम्भ, बजार तथा बितरण शाखामा काम गर्ने चारजनालाई सम्मानित गरिएको थियो । समाचारको क्षेत्रमा उत्कृष्ठ योगदान गरेको भन्दै नवलपुर संवाददाता खगेन्द्र पराजुली, स्तम्भकार माधव शर्मा, बजार व्यवस्थापनका लागि संगीता रेग्मी र बितरण शाखाका ओम पौजालाई सम्मान गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबैलाई सम्मान गरेका थिए ।