बागलुङ, १६ भदौ– बर्षभरी मृत्यु भएका आफन्तको सम्झनामा बागलुङका नेवार समुदायले गाईजात्रा मनाएका छन् । गाईजात्रासँगै शुक्रवार बास्सा नाँच समेत देखाइएको छ ।
मृत्यु भएकाहरुको सम्झनामा नेवारी संस्कारका कपडा लगाएर झकी झकाउ बनाइएको ताया मचासहित बजार परिक्रमा गरिएको थियो ।
जनै पूर्णिमाको दिनदेखि बागलुङका नेवारले साता दिनसम्म एक दर्जन जात्रा मनाउने गर्छन् । लाखे जात्रा, गाईजात्रा, रोपाईजात्रा, बाघ जात्रा, जोगी नाँच, हनुमान नाँच लगायतका जात्रा छन् । गाईजात्राकै अवसरमा सरकारदेखि ठूलाबडालाई गाली गर्ने र व्यङग्य गर्ने पर्वको रुपमा पनि मनाईन्छ ।
बागलुङका नेवारहरु झण्डै तीनसय बर्ष अघि भक्तपुरबाट बसाई सरेर आएको ईतिहास छ । बसाई आउने क्रममा उनीहरुले ल्याएको संस्कृति देखाइने गरिन्छ । बागलुङको नारायण मन्दिर, राधाकृष्ण मन्दिर लगायतका स्थानमा संकलन हुने भेटी, व्यक्तिगत रुपमा दिने दान र चन्दा संकलन गरेर धेरै संस्कारहरु जोगाइएको स्थानीय निर्मलबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रताप मल्लको पालामा शोकमा डुवेकी रानीलाइ खुसी पार्न थालेको गाइजात्रा जस्तै सामाजिक अगुवाहरुको निधनमा बास्सा नाँच देखाउने बागलुङका नेवारको पुरानो चलन हो । कलाकार अभावमा लामो समयपछि मात्र बास्सा नाँच देखाइएको नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
बिषेशगरी सामाजिक योगदान भएका व्यक्तिको स्तुतीगान गाउने, उनीहरुको जीवनीबारे गीत बनाउने, उनीहरुको सम्झनामा राम, सीता, लक्ष्मण र हनुमान जस्ता रामायणका पात्र बनाएर बजार डुलाउने र नचाउने काम नै बास्सा नाँच हो ।
यसरी गाइजात्रा र बास्सा नाँच देखाउँदा शोकमा डुवेका परिवारलाई सन्तोष मिल्ने विश्वास गरिन्छ । साथै मृतकको आत्माको शान्ति प्राप्त हुने विश्वास समेत गरिने उनले बताए । बागलुङमा बास्सा नाँच हरेक बर्ष गाइजात्राकै दिन निकाल्ने चलन छ । तर यो नृत्य धेरै खर्चिलो छ । त्यसैले राधा कृष्ण मन्दिरले सामुहिक रुपमा बास्सा नाँच निकाल्ने चलन राख्दै आएको छ ।