बागलुङ, १७ कात्तिक– बागलुङ नगरपालिकाले पर्यटकीय गन्तव्यहरुको चिनारी, प्रचार प्रसार र प्रवद्र्धनका लागि श्रव्यदृश्य तथा पुस्तक आकारका प्रचार सामाग्री बनाउने भएको छ ।
नगर पर्यटन विकास समितिको बैठकले पर्यटकीय सम्पदाहरुको ‘क्युआर हेरिटेज म्यापीङ तथा स्टोरी’ बनाउने भएको समितिका अध्यक्ष तथा नगर उपप्रमुख राजु खड्काले बताए ।
पर्यटकीय सम्पदाको सूचिकरण गरेर ब्रोसर बनाउने, ती स्थानको चिनारीका लागि पुस्तक प्रकाशन गर्ने, पर्यटन सम्बन्धी लेख रचना लेख्नेलाई प्रोत्साहन दिने नीति बनाइएको उनले बताए । ‘पर्यटन क्षेत्रको विकास गर्न सकेमा बागलुङको आर्थिक अबस्था पनि सुधार हुनेछ’ उनले भने, ‘समितिले पनि जसरी हुन्छ अब बागलुङको पर्यटन अवस्थामा सुधार ल्याउने हो ।’ पहिलो पटक नगर क्षेत्रको विकास गर्दै क्रमशः जिल्लाकै पर्यटकीय पहिचान बनाउने लक्ष उनले सुनाए ।
समितिले पर्यटन पत्रकारिता तालिम संचालन गर्न लागेको छ । त्यसका लागि कक्षा १२ पास गरेका बिद्यार्थीदेखि क्रियाशिल पत्रकारलाई पनि बिधागत रुपमा बिज्ञ बनाउने योजना बनाइएको हो । बिशेषगरी बागलुङ आएका पर्यटकले मुख्य सम्पदा बारे बिद्युतीय रुपमा अध्ययन गर्न पाउने व्यवस्थाकालागि क्युआर हेरिटेज म्यापिङ गर्न लागिएको हो । त्यसका लागि आब्हान गरिएको प्रस्ताबका लागि तीनवटा संस्थाले प्रस्ताव पत्र पेश गरिसकेका छन् ।
पछिल्लो समय बढीरहेको टिकटकलाई समेत प्राथमिकता दिएर बागलुङका पर्यटकीय क्षेत्रलाई प्रचार गर्न बनाइने टिकटकसमेत प्रोत्साहनको दायरामा पर्नेछन् । सदरमुकाम बागलुङ बजारदेखि बिभिन्न पर्यटकीय स्थल, जिल्लाका गन्तव्य, मध्यपहाडी लोकमार्गका अन्य जिल्लाका सदरमुकाम, हिमाली पदयात्रा, मुक्तिनाथ, ढोरपाटन र धौलागिरि तथा अन्नपूर्ण बेसक्याम्पस लगायतका स्थानमा जाने रुटबारे समेत जानकारी दिने गरी नक्सांकन गरिनेछ ।
चालु बर्षका लागि ४० लाख बजेट बिनियोजन भएको पर्यटन शिर्षकबाट पर्यटन प्रहरी राख्ने, पर्यटन सूचना केन्द्र बनाएर बागलुङ आएका पर्यटकको लागत राखेर उनीहरुले जाने क्षेत्र, बस्न चाहेको होटल तथा अन्य सेवासुविधाबारे जानकारी दिने र आगामी दिनमा उनीहरुले थप पर्यटक ल्याउने योजना बनाउन प्रोत्साहन गरिनेछ ।
समितिले गन्तव्यहरु तोक्दा न्युनतम कति पर्यटक जाने स्थानलाई पहिलो प्राथमिकतामा राख्ने, कस्तो प्रकारको ब्रोसर र नक्सांकन गर्नेजस्ता बिषय छनौट र प्रतिवेदन तयार गर्न प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी नेतृत्वमा चुस्त उपसमिति गठन गर्ने समेत निर्णय गरेको छ ।