बागलुङ, १८ कात्तिक– बागलुङ नगरपालिकाले तिहारलगायत चाडपर्वको समयमा रंग मिसिएका झिनिया लगायतका खाद्यपदार्थ बिक्री वितरण र उपभोग नगर्न आग्रह गरेको छ ।
शुक्रबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको अहित हुनेखालका कुनैपनि व्यापारिक गतिबिधि नगर्न व्यवसायीलाई सचेत गराउने निर्णय गरेको हो ।
पटक पटक गरिएको बजार अनुगमनमा बजारमा मुल्यसूचीबिना सामाग्रीको बिक्री वितरण भैरहेको, अखाद्य र म्याद गुज्रेका सामाग्रीको बिक्री वितरण भएको पाईएकाले बजार व्यवस्थापनलाई थप चुस्त बनाउने निर्णय गरिएको समितिका संयषेजक नगर उपप्रमुख राजु खड्काले बताए ।
नगरपालिकाले उपभोक्ताले प्रष्ट देख्न सक्ने ठाउँमा मुल्यसुची अनिवार्य राख्न भनेको छ । म्याद गुज्रेका सामानहरुको छुट्टै जोन बनाउने, म्याद गुज्रेका सामानहरु बिक्री वितरण नगर्ने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ । अखाद्य पदार्थ तथा रङको मिसावट भएका झिनिया लगायतका कुनै पनि खाद्यपदार्थहरु बिक्री वितरण नगर्ने निर्णय बैठकले गरेको छ ।
खाद्य तथा पानी लगायतका पेयपदार्थ तोकिएकै मुल्यमा बिक्री वितरण नभएको पाईएकाले तोकिएकै मुल्यमा बेचविखन गर्न व्यवसायीको ध्यानाकर्षण गराईएको छ । ‘आवश्यक सूचना र जानकारी दिने हो, अटेरी गरेको भेटिए कानून अनुसार कारवाही हुन्छ’ खड्काले भने ।
बजारमा दर्ता नभएका र मापदण्ड नपुगेका मासु पसललाई नियमित गर्न र दिपावलीको अवधिमा प्लाष्टिकजन्य फुलमाला तथा पटका निषेध गर्ने निर्णय बैठकले गरेको छ ।