बागलुङ, ६ फागुन– यस वर्षको सूर्य–लक्ष्मी स्मृति सम्मान लक्ष्मीहरि मन्दिर रत्नेचौरका उत्तराधिकारी रामानुजाचार्य जगतगुरु हिमालय बाबालाई प्रदान गरिएको छ ।
बागलुङ नगरपालिका–३ का कुलप्रसाद श्रेष्ठ र सहनशीला श्रेष्ठले वैदिक सनातन धर्म संस्कृतिको संरक्षण र सम्र्वद्धन गर्ने उदेश्यले आफ्ना स्व. मातापिता सुर्यलाल श्रेष्ठ र महालक्ष्मी श्रेष्ठको स्मृतिमा २०७१ सालमा स्थापना गरेको कोषबाट स्वामी जगदगुरु हिमालय बाबालाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सोही कोषबाट मुक्तिनाथ वेदविद्याश्रम कुँडुले फेदीका विद्यार्थी गगन रेग्मीलाई नगद २ हजार ५ सयसहित प्रशंसा पत्रद्धारा पुरस्कृत गरिएको छ । सो सम्मान तथा पुरस्कार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीले संयुक्त रुपमा प्रदान गरेका थिए ।
सम्मानपछि बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले धर्म संस्कृति भाषा कला साहित्य र परम्परा बचाउन आफु सचेत रहेको बताए । धर्म संस्कृतीको रक्षाका लागि सूर्य–लक्ष्मी स्मृति पुरस्कारले महत्व भुमिका निर्वाह गर्ने उनको भनाई थियो । सो अवसरमा जगतगुरु हिमालय बाबाले धार्मिक प्रवचन दिएका थिए । कार्यक्रम राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीको अध्यक्षता, कोषका संस्थापक निर्माण कुमार श्रेष्ठ ‘बासु’को स्वागत र सचिव हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।