बागलुङ, २ मंसिर -नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले युवाहरु विदेश पलायन हुने भन्दा स्वदेशमा लगानी गरेर आफ्ना साथीलाई रोजगारी बनाउनेमा लाग्नुपर्ने बताएका छन् । उनले त्यो अभियानमा महासंघ र आफ्ना कम्पनीहरुले पनि साथ दिने बताएका छन् ।
ढकालले स्वदेशी पूँजि परिचालनबाटै ठूला उद्योग खोल्न र रोजगारी बढाउन सकिने बताएका छन् । त्यसका लागि युवाहरुले समयमै देशभित्रै काम थाल्नुपर्ने ढकालले बताए । लायन्स क्लब ३२५ जे को दोश्रो डिस्ट्रीक क्याबिनेट बैठकमा बागलुङ आएका ढकालले शनिबार उक्त धारणा राखेका हुन् ।
उनले विदेश गएमात्रै रोजगारी पाइन्छ, यहाँ केही छैन भन्ने भास्य त्याग्नुपर्ने बताए । लायन्स क्लबमा लागेका युवालाई पनि स्वदेशमै उद्यम गर्ने र लगानी बढाएर रोजगारी सिर्जनामा लाग्न उनले आग्रह गरेका थिए ।
ढकालले नेपालमै पर्यटन, कृषि, उर्जा र आइटिको क्षेत्रमा लगानी गर्न १० अर्बको कम्पनी तयार गरेको जानकारी दिए । उक्त कम्पनीमार्फत सयौं रोजगारी सिर्जना गर्न तयार रहेको भन्दै त्यसका लागि जिल्लाका उद्योगीलाई पनि रोजगारका काम थाल्न आग्रह गरे । कम्पनीले देशभित्रै काम गर्न खोज्नेलाई साथ दिने, कतिपय स्थानमा आँफै अगाडि सर्ने समेत ढकालले प्रतिवद्दता जनाए ।
पछिल्लो समय युवाहरु रोजगारीको लागि भन्दै विदेश पलायन भएकोमा उनले चिन्ता पनि व्यक्त गरे । विदेश जाँदैमा राम्रो रोजगारी नहुने, बरु समस्या थपिने भन्दै उनले युवा पलायन रोक्न अब उद्योगी व्यवसायीले यहीं काम थालनी गर्नुपर्ने सुझाव दिए । उद्योग व्यवसायका लािग राज्यले वातावरण बनाउनु पर्ने र त्यसबाटै सुखी नेपाली र समृद्द नेपालको परिकल्पना पुरा गर्न सकिने समेत ढकालले बताए ।
ढकालले पछिल्लो समय युवामा आएको नैराश्यतालाई सामाजिक संजालले मलजल गरेको टिप्पणी गरे । ‘नेपालमा केही छैन भन्दै युवा विदेश पठाउने हो भने देश बनाउन सकिंदैन’ उनले भने, ‘अब नेपालमै केही गर्न सकिन्छ, सबै कुरा यहाँ संभव छ भन्ने देखाउनु पर्छ ।’ आवस्यक स्थानमा लगानी गर्न तयार रहेको उनले बताए ।
वैदेशिक अनुदानले विकास नहुने उनले बताए । ‘केही राम्रा काम पनि होलान, तर विदेशको अनुदान र ऋणले हामीले विकास गर्न सक्दैनौं, त्यो विश्वसनीय पनि छैन’ उनले भने, ‘हरेक व्यवसायीले थोरै थोरै यहीं लगानी गरेर रोजगार सिर्जना गरौं ।’
उनले नेपाल उद्योग बाणिज्य महासंघ लायन्स क्लबहरुसंग पनि मिलेर काम गर्न तयार रहेको बताए । लायन्समा लाग्ने युवालाई उद्यमी बनाउने र सयौं युवा रोजगार बनाउने काममा महासंघका ६ लाख व्यवसायीले हातेमालो गर्ने उनले बताए । ढकालले शिक्षा र स्वास्थ्यमा राज्यले साथ दिने, उत्पादन र रोजागरीमा निजीक्षेत्रलाई काम गर्ने वातावरण बनाइदिन उनले सरकारको ध्यानाकर्षण समेत गरेका छन् ।
लायन्सको दोश्रो क्याबिनेट बैठकका लागि देशभरबाट १ हजार जना बागलुङ आएको बैठकका प्रचारप्रसार संयोजक गणेशराज लम्सालले बताए । उनीहरुले केही दिनदेखि ढोरपाटन, मुक्तिनाथ, बागलुङ कालीका मन्दिर, नेपालकै लामो झोलुंगे पुल र पञ्चकोट लगायतका स्थान घुम्दै छन् । यो बैठकले पर्यटनको विकास तथा स्वदेशमा लगानीका लागि उद्यमीलाई आब्हान गर्ने लगायत महत्वपूर्ण निर्णय समेत गर्ने डिस्ट्रीक गर्भनर मिलन थापाले बताइन् ।