बागलुङ, १८ फागुन- यतिबेला पूर्वी नेपालमा नो केवलकार समूहको आन्दोलन चलिरहेको छ । ताप्लेजुङको पाथीभरामा केवलकार बनाउनु हुँदैन भन्ने समूह र निर्माणकर्ताको सुरक्षा दिन राज्य पक्षबीच लामो समयदेखि घम्साघम्सी र झडप समेत भैरहेको छ ।
सोही समयमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद बागलुङले ताप्लेजुङमा निर्माण गर्न लागिएको केवलकार वातावरण र संस्कृति विरोधी काम भएको टिप्पणी गरेको छ । परिषदले नो केबलकार पक्षलाई नै साथ दिने गरी आन्दोलनमा ऐक्यवद्दता समेत जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै परिषदले लगानी गर्ने र विकास गर्ने निहुँमा किराँत संस्कृतिको परम्परा माथी धावा बोलिएको र विकासको नाउँमा बिनास गर्न लागिएको आरोप लगाएको हो ।
अध्यक्ष बोमबहादुर गुरुङद्वारा जारी गरिएको विज्ञप्तीमा पनि ऐतिहासक मुन्धुमीस्थल मुकुमलुङ क्षेत्रमा कुनै एक व्यापारीले व्यपारिक स्वार्थका लागि धार्मिक आस्थाको बर्खिलाप हुने गरी, प्रकृतिको बिनास गर्ने गरी केबलकार निर्माण गर्न लागेकोमा विरोध गरिएको छ । शान्तिपूर्ण आन्दोलन गरेर विरोध भैसकेपछि राज्यले बल प्रयोग गरेर स्थानीयलाई घाइते बनाएको घटना खेदजनक रहेको उनले बताएका छन् ।
विशेषगरी यो धार्मिक क्षेत्र भएपनि विकासको नाउँमा केवलकार लैजाने स्थान नभएको उनले स्पष्ट पारेका छन् । हाइ अल्टिच्युटका कारण केवलकारमा पुग्ने मानिसको श्वासप्रश्वासमा समस्या हुने, मृत्यु समेत हुन सक्ने र केवलकार निर्माण गर्दा हिमाली क्षेत्रमा फुल्ने लालीगुराँसलगायत वनस्पति नष्ट हुने भएकोले स्थानीयले विरोध गरेकोमा राज्यले जबरजस्ती गरेकोले बिरोध गरिएको बताइएको छ ।
पछिल्लो समय राज्यले आदिवासी जनजातीको संस्कार, संस्कृति र परम्परा विरोधी गतिविधि गरेको समेत परिषदले आरोप लगाएको छ । ‘राज्यले लगानी नै खोजेको भए कर्णालीमा तुइन समेत नपाएर विद्यालय नगएका बालबालिकाका लागि केवलकार बनाउन सक्नुपर्छ’ गुरुङले भने, ‘यो विषयमा राज्यले चासो राख्नुपर्छ ।’ सानो समूह भएपनि दमनकारी नीति लिंदा राज्यलाई ठूलो नोक्सानी हुने भन्दै शान्तिपुर्ण आन्दोलनबाटै पाठ सिकेर केवलकार निर्माण रोक्न आग्रह गरिएको छ ।