बागलुङ, १५ बैशाख- जिल्लाको ताराखोला गाउँपालिकामा सञ्चालित २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ९० जना बिरामी लाभान्वित भएका छन् । ताराखोला स्वास्थ्यचौकीमा भएको शिविरबाट बिभिन्न खालका स्वास्थ्य समस्याबाट पीडित ९ सय ९० जनाको उपचार गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी ताराखोला उपशाखाको आयोजना, ताराखोला बचत तथा ऋण सहकारी संस्था र नवसिर्जना युवा क्लबको सह–आयोजना तथा फेवा सिटी हस्पिटल पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा गाउँपालिकाका साथै म्याग्दीको मालिका गाउँपालिकाका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको नवसिर्जना युवा क्लवका प्रथम उपाध्यक्ष धनबहादुर घर्तीले जानकारी दिए ।
सो अवसरमा फेवासिटी हस्पिटलको समुह, शिविर व्यवस्थापन गर्न सहयोग गर्ने संघसंस्था र समूहलाई सम्मानसमेत गरिएको थियो ।