१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

कथा : गुरु


ध्रुवसत्य परियार
  • ८ माघ २०७८ , शनिबार

  • कथा : गुरु

    भिक्षा माग्दै डुलिरहेका वैरोचन मातंगीपुरी नगरी पुगे।

    भगवती नदीको तटमा अवस्थित मातंगीपुरीमा त्यस्ता स्त्री बस्थे, जसका पति हुँदैनथे तर पुत्रपुत्री हुन्थे। यस नगरीमा शमना नामकी वृद्धाको शासन चल्थ्यो। शमनाले आफ्नो यौवनकाल दासी भएर बिताएकी थिइन्। शिवपुरी राज्यका उच्च पदस्थ पुरुषको सेवा गर्दागर्दै उनले ११ सन्तानलाई जन्म दिइन्।

    किन्तु उनले आफूले जन्माएका सन्तानलाई पिता को हो भनी चिनाउन सकिनन्। घरघरमा गएर विद्वत् पुरुषहरूको सेवा गर्ने क्रममा उनले ओछ्यानको सेवा पनि दिनुपथ्र्यो। त्यसैले उनलाई कुन सन्तानको पिता कुन हो भन्ने पत्तो हुँदैनथ्यो।

    समाजमा पिताबिनाका सन्तानको कुनै स्थान थिएन, उनले जन्माएका सन्तान पनि राज्यका ठूलाबडाको घरमा दासदासी हुन पुगे।

    तनबाट बल र बैंशको आभा उत्रेपछि उनले सोच्न पुगिन् -यो जुनीमा न आफूलाई सुख भयो न सन्तानलाई, कारण के हो?

    कारण खोज्दै भौँतारिएकी उनी एक औँसीको रातमा भगवती नदी तटमा पुगिन्। भगवती नदी शिवपुरी राज्यदेखि केही पर भएर बग्थिन्। मध्यरातमा भगवती आफ्नै छन्दमा बगिरहेकी थिइन्। त्यस छन्दले शमनाको हृदयलाई कम्पित गर्‍यो र उनी नदी किनारको बालुवामाथि बसेर डाँको हालेर रोइन्।

    पाँच घडी जति रोएपछि उनको मन सिमलको भुवाजस्तै हलुका भयो, एक प्रकारको आनन्दानुभूतिसहित उनी घर फर्किन्। अरू मानिसले नदेखून् भनी कालो कपडा लगाएर हरेक रात उसै गरी उनी भगवती तटमा गएर रुन थालिन्।

    २१औँ दिनको मध्यरातमा उनी भगवती तटमा रुँदै थिइन् -सहसा भगवती नदीको गति रोकियो, यता उनको श्वास रोकियो, आँसु रोकियो, आवाज रोकियो, हृदयको धड्कन रोकियो तर हृदयमा असीम आनन्दानुभूतिको वर्षा हुन थाल्यो। क्षणभरमै भगवती आफ्नै छन्दमा बग्न थालिन्। किन्तु शमनाको मनबाट त्यो दिव्य सुखानुभूति बगेर गएन। त्यसपछि उनले आफूजस्तै दासी वृद्धा र विवाहबिनै सन्तान जन्माउने स्त्रीलाई लिएर मातंगीपुरी नगर बसाएकी हुन्।

    यो नगरमा प्रवेश गर्न सिद्ध पुरुष हुनैपर्छ, जोकोही सक्दैन। स्त्री रजस्वला हुँदा निस्कने रगतको रेखाले नगरलाई घेरिएको छ, त्यो रेखालाई कुनै अधर्मी र अज्ञानी पुरुषले नाघ्यो भने रगतै छादेर मर्छ-परपरसम्म यस्तै आस्था फैलिएको थियो। यो कुरा वैरोचनलाई पनि ज्ञात थियो।

    मातंगीपुरीमा सबै सुख थियो, यहाँको उब्जनी बेचेर खान पुग्थ्यो। यहाँको उब्जनी खरिद गर्न व्यापारीहरू रजस्वला रेखासम्म पुग्थे, रेखाको भित्र–बाहिर भएर व्यापार चल्थ्यो। रेखा नाघ्ने साहस कसैले गर्दैनथ्यो। यहाँ एउटा नियम थियो-यहाँ हुर्केका कन्या वा पुरुषले विवाह गर्नुपरे नगरी नै छाडेर जानुपर्थ्यो।

    कतिले नगरभित्रै जोडी रोज्थे र विवाह गरेर शिवपुरी राज्य छिर्थे। कति स्त्रीले व्यापारी र शिवपुरी राज्यका सिपाहीसँग विवाह गरेर जान्थे। अन्यत्र विवाहबिनै सन्तान जन्माउन पुग्ने स्त्री आफ्ना सन्तान बोकेर यही नगरीमा शरण लिन आइपुग्थे।

    यहाँ हुर्केका सन्तानलाई शमनाले नै शस्त्रअस्त्र र शास्त्रको ज्ञान दिन्थिन्। यहाँ हुर्केका अधिकांश सन्तान तन र मन दुवैका दृष्टिले शक्तिशाली हुन्थे। वरपरका राज्य र समाजमा पितृवंश परम्परा थियो। यहाँ शमनाले आफ्नो नामको गोत्र चलाएकी थिइन्। शमना गोत्र बताउनेलाई दुई दृष्टिले हेरिन्थ्यो-यो व्यक्ति तन र मनको शक्तिशाली छ। अर्को, यो व्यक्तिको पिता छैन। विशेषतः पहिलो कारणले शमना गोत्रको प्रभाव र प्रताप फैलँदो थियो।

    यस गोत्रका पुरुषलाई वरपरका कुनै पनि राज्यमा सिपाही हुन र यस गोत्रका स्त्रीलाई कुनै पनि राज्यका पुरुषसँग विवाह गर्न समस्या थिएन। मातंगीपुरी नगरी एक प्रकारले शमनाको आश्रम थियो। यद्यपि यहाँ विवाहबिनै सन्तान जन्माएका स्त्रीले मात्र प्रवेश पाउँथे। विवाह गर्नुपर्ने मान्यता र पितृवंश परम्पराकै कारण स्त्रीले समाजमा दुःख सहनुपरेको ज्ञान उनलाई थियो।

    वैरोचनले शमनाकै घरमा पुगेर भिक्षा मागे।आफ्नो दैलोमा पुरुष देखेपछि शमनाले भित्रैबाट अन्तर्दृष्टिले नियालिन् र थाहा पाइन्-वैरोचन नामका यी सिद्ध पुरुष विशेष उद्देश्यले यहाँ आएका हुन्। उनले भिक्षामा चामल र फलफूल दिइन्। मातंगी नगरीमा आफ्नो झोली भिक्षाले भरिएपछि वैरोचन आफ्नो आश्रमतिर फर्के।

    उनको आश्रम भगवती नदीको मुहानमा थियो। उनले आफ्नो आश्रममा स्त्री र पुरुष दुवैलाई शस्त्रअस्त्र र शास्त्रको ज्ञान दिन्थे। विशेषतः राजघरानाका सन्तान उनको आश्रममा आउँथे। यद्यपि उनले योग्य शिष्य पाउन सकिरहेका थिएनन्, योग्य शिष्यको खोजीमै उनी मातंगीपुरी पुगेका थिए।

    आश्रममा आएर झोलीको चामल एउटा भाँडोमा खन्याए। चामलमा एउटा केश देखियो। त्यो केश शमनाकी कान्छी पुत्री उन्मनाको थियो, जवानीले उन्मुक्त भए पनि उनको विवाह भएको थिएन। उन्मनाले सधैँ कुनै वीर पुरुषको कल्पना गर्थिन्-ऊ तरबार बोकेर सेतो घोडा चढेर आफूलाई लिन आओस्। शमनाले पुत्रीलाई जीवन–जगत्को ज्ञान दिएकी थिइन् तर यौवनको पूर्ण ज्ञान दिन सकेकी थिइनन्, त्यसका लागि उन्मनालाई व्यावहारिक यौन शिक्षा आवश्यक थियो।

    ध्रुवसत्य परियार

    यो समस्या समाधानका लागि शमनाले धेरै सोचिन्, दीर्घकालीन युक्ति निस्केको थिएन। त्यसैले उनी आफ्नी पुत्रीका लागि एउटा योग्य पुरुषको खोजीमा थिइन्। अन्तर्मनले हेर्दा उनले वैरोचनमा त्यो सम्भावना देखिन् र भिक्षामा उन्मनाको केश हालेर दिएकी थिइन्, ताकि वैरोचनले उनको संकेत बुझून्।

    वैरोचनले संकेत बुझे।

    उन्मना हरेक पूर्णिमाको रातमा तरबार र धनुबाण बोकेर भगवती नदी तटतिर डुल्थिन्-जून र नदीसँग संवाद गर्थिन्।

    सूर्य उत्तरायण हुँदै गर्दाको पहिलो पूर्णिमाको रातमा वैरोचन सेतो घोडा लिएर उन्मनालाई भेट्न गए। कतै कुनै छल हो कि भनेर उन्मनाले वैरोचनसँग तरबार युद्ध गरिन्। उनीहरूबीच १२ घडीसम्म युद्ध चल्यो तर हारजित भएन।

    उन्मनाले युद्ध रोक्दै भनिन्-को हौ तिमी? किन मसँग विजय–पराजय नहुने खेल खेलिरहेका छौ ? कि मलाई हराऊ कि त जित्न देऊ।

    वैरोचन बोले- म तिमीसँग हारजितको खेल खेल्न आएको होइन, दुवैको जितको खेल खेल्न आएको हुँ।

    दुवैको जित ! खेलमा पनि यस्तो सम्भव हुन्छ? उन्मनाले प्रश्न गरिन्।

    – हो, संसारमा दुवैको जित हुने खेल प्रशस्तै छन्।

    उन्मनाले झट्ट आमाका वाणी सम्झिइन्-न्यायको लडाइँ, जीवन र जगत्को बोध नै सबैको विजय सम्भव हुने खेल हो। यस खेलमा सामेल हुन विशेषतः मनको बलियो हुनुपर्छ।

    तरबार युद्धले थाकेका उनीहरू भगवती तटको बालुवामाथि बसे। उन्मनाले प्रश्न गरिन्–उसो भए भन, यो खेलमा हामी दुवैको न्याय वा ज्ञान के हो?

    वैरोचन बोले -पहिले हामीबीच सौहार्द संवाद हुनुपर्छ, त्यसपछि मात्रै हामी न्याय वा ज्ञानतर्फ उन्मुख हुन सक्छौँ। हामी भेटिनेबित्तिकै पशुझैँ जुध्न आवश्यक थियो र?

    –ठीक हो, परन्तु मैले तिम्रो पहिचान गर्न तरबार उठाएकी थिएँ, तिमीले आफ्नो परिचय दिएर तरबार नउठाएको भए पनि हुन्थ्यो!

    वैरोचन बोले-जे भयो राम्रै भयो। तरबार युद्ध नै एउटा कडी बन्यो हाम्रो संवादको।

    ‘ठीक हो तर तरबारले लागेर हामी दुईमध्ये एकको मृत्यु भएको भए?’ उन्मनाले प्रश्न गरिन्।

    –तिम्रो हातबाट मृत्यु हुनु मेरा लागि मोक्ष हो। रह्यो कुरा तिम्रो मृत्युको। यी मेरा बाहुमा एउटा कमजोरी छ। यिनले तिम्रा प्रहारलाई छेक्न मात्रै सक्छन्, तिमीमाथि प्रहार गर्न सक्दैनन्।

    तिमी मलाई दयाको पात्र बनाउँदै छौ?

    – यस सम्बन्धमा मैले तिमीलाई होइन कि प्रकृतिले मलाई दयाको पात्र बनाएको छ। मान्छेले मान्छेको तनलाई त जित्न सक्ला, मन जित्न सरल छैन।

    दुवै घुँडा माथितिर खुम्च्याएर बसेकी उन्मनाले बालुवामा टेकिएका आफ्ना पाउका दुवै बूढीऔँला जोड्न पुगिन् र लजाउँदै भनिन्, ‘बोल्न त खुबै जानेका रहेछौ!

    बोल्न मात्रै?

    ‘खोइ अरू के के जानेका छौ थाहा छैन मलाई। रात छिप्पिसक्यो, अब म जान्छु,’ उन्मना उठ्दै बोलिन्, ‘को हौ तिमी, अब कता जान्छौ?’

    जता गए पनि भोलि साँझको घाम अस्ताउने बेला म यहीँ आइपुग्छु, तिमी पनि घोडा लिएर आउनू। भोलि यस बालुवामा तिमी र म घोडदौड खेल्नुपर्छ। म तिमीलाई आफ्नो परिचय दिँदै जानेछु।

    यति संवादपछि दुवै आआफ्नो बाटो लागे।

    अर्को दिन, घाम अस्ताउनुअघि नै वैरोचन घोडा लिएर भगवती तटमा पुगिसकेका थिए। पर डाँडामाथि घाम मलिन हुँदै थियो, वैरोचनले अस्ताउँदो घामलाई एकोहोरो हेरिरहेका थिए।

    ‘किन यसरी घामलाई हेरिरहेका छौ ?’ उन्मना घोडाबाट ओर्लंदै परैबाट बोलिन्।

    –घाम अब केही घडीका लागि हामीमाझ रहँदैन, अब हामीले आकाशको घामलाई बिदाई गरेर आफूभित्रको घामलाई जगाउनुपर्छ।

    उन्मनाले आमाका वाणी सम्झिइन्-संसारका थुप्रै सत्य र रहस्यको गर्भ सूर्य हो, सूर्य निभ्यो भने जीवन र जगत्को अस्तित्व रहँदैन। हामीभित्र पनि एउटा सूर्य छ, त्यही सूर्यको ऊर्जाले प्रेम र सद्भावको जन्म दिन्छ। त्यही सूर्यको ऊर्जाले नै सृष्टि चलेको छ।

    वैरोचनलाई उक्साउने हेतुले उन्मना बोलिन्-यो साँझको बेला आफूभित्रको सूर्यलाई धेरै नजगाउनू, ऊर्जाले आफैँलाई खान थाल्छ।

    उन्मना षोडशीका हुँदा एक व्यापारी पुरुषको प्रेममा परेकी थिइन्। लवाइखवाइले त्यो पुरुष सुन्दर देखिन्थ्यो तर धनको लाभहानितिर मात्रै ध्यान दिँदा ऊ मनको कमजोर थियो। एक दिन त्यस पुरुषले कतै एकान्तमा लगेर उन्मनाभित्रको ऊर्जा जगाइदियो, तर सम्पूर्ण रूपमा शमन गर्न सकेन।

    त्यस दिन उनले अरू केही व्यापारीलाई पनि भेटिन्, परन्तु उनले आफूले भेटेका पुरुषभित्र आफूले खोजेको पुरुष पाइनन्, सबै मनका कमजोर।

    त्यसयता उनलाई यौन ऊर्जामा पुरुष दुर्बल हुन्छन् भन्ने भान परेको थियो। मातंगीपुरीभरि उन्मना कुनै व्यापारीको प्रेममा परेको खबर फैलिएकाले उनीप्रति मातंगीपुरीका कुनै पुरुष आकर्षित थिएनन्। यसैले उनी पुरुषप्रति नै विरक्त हुन पुगेकी थिइन्।

    यसको केही वर्षपछि उनले वैरोचनजस्तो धीर पुरुष भेट्न पुगिन्, जसले उनीभित्र आफैँ दबिन पुगेको ऊर्जालाई कुतकुत्याइरहेको थियो।

    उन्मनाले उक्साए पनि वैरोचनले ध्यान दिएनन्। उनले भने–हिँड यस बालुवामा घोडचढी खेल्यौँ। भगवती तटमा केही भाग समथर थियो, उनीहरू दुवैले हाराहारीमा घोडा कुदाइरहेका थिए, आकाशमा चराहरू आफ्नो वासस्थानतर्फ फर्कनका लागि उडिरहेका थिए।

    उन्मनाले घोडा रोक्दै भनिन्, ‘पर्ख, केहीबेर चरालाई हेरौँ।’ उन्मनालाई अनुमान भइसकेको थियो- यस पुरुषले घोडचढी खेललाई पनि बराबरीमै टुंग्याउने हो। त्यसो हो भने किन हतार गर्नु?

    वैरोचनले घोडा रोके। मकर मास भएकाले मौसम केही चिसो थियो। केहीबेर घोडा कुदाएर उनीहरू नदी तटमा जोडिएर रहेका दुईवटा ठूला ढुंगामा बसे।

    ‘मलाई साँझमा चराहरू उडेको हेर्न मन पर्छ,’ उन्मना बोलिन्, ‘के यिनीहरूबीच कति पर पुग्ने भनेर प्रतिस्पर्धा चलिरहेको होला!’

    –यिनीहरूको प्रतिस्पर्धा भनेकै वासस्थानसम्म पुग्नु हो। वासस्थानमा पुग्नु नै यिनीहरू सबैको जित हो, प्रकृतिको न्याय पनि यही हो।

    हिजो तिमीले भनेको दुवैको जित र सबैको जित सम्भव रहेछ, त्यसको उत्तर अहिले पाएँ। धन्यवाद तिमीलाई।

    –हेर, यस प्रकृतिमा प्राणी गाँस–बासकै लागि कुदिरहेका छन्। प्रकृतिको पहिलो न्याय सबैको गाँस–बास नै हो। प्रकृतिले धेरै कुरा दिएको छ, तर हामी मानवले न्यायपूर्ण किसिमले बाँडेर उपभोग गर्न जानेका छैनौँ।

    वैरोचन बोल्दै थिए। पूर्वी आकाशमा एक टुक्रा बादलले छोपिएको माघ कृष्ण प्रतिपदाको जून खुल्यो र जूनको ज्योति उनीहरूमाथि पोखियो। जसले दुवैका मुहार खुबै चम्केका थिए।

    वैरोचन अगाडि बोले -आफ्नो गाँस–बासका लागि नकुद्ने त नदी, हावा, बादल र यिनै घाम–जून मात्रै हुन्। यिनीहरू जे छन्, हाम्रा लागि छन्।

    नजिकै बाँधेका दुवैका घोडा हिनहिनाए। चिसो याममा नदी किनारमा बस्दा उनीहरूको शरीर चिसिएको थियो, त्यसैले उनीहरू दौडेर जिउ तताउन वा न्यायो ठाउँमा जान चाहन्थे।

    ‘हिँड, फेरि घोडचढी खेल्यौँ,’ वैरोचनले उन्मनासँग आग्रह गरे।

    जूनको उज्यालोमा दुई घढीजति घोडा कुदाएपछि उनीहरू भगवती तटमा आरामका लागि बसे। भगवती नदीको एकतमासको छन्दले दुवैलाई तरंगित पारिरहेको थियो।

    दुवै पसिनाले निथु्रक्क भएका थिए। उन्मनाले आफ्नो आँचलले अनुहार पुछ्दै जिस्किइन् -अब यसो भन न, यो नदी पनि कसैसँग प्रतिस्पर्धाका लागि बगिरहेको होइन, यो केवल हामी प्राणीका लागि बगिरहेको छ र बग्नु नै यसको धर्म हो। यो समुद्रमा पुगेर बास बस्ने होइन, समुद्र बनेर समुद्रको धर्म निर्वाह गर्ने हो। समुद्रको धर्म भनेको सूर्यको तापबाट सोसिनु हो।

    उनीहरू बालुवामाथि एकअर्काबीच केही दूरी बनाएर बसेका थिए। नदीको पारिपट्टि भिरालोमा साँगुरो बाटो थियो। त्यही बाटो भएर केही भरिया भारी बोकेर जून र चिरागको उज्यालोमा हिँड्दै थिए। सबैभन्दा अगाडिका भरिया नजिकै बाघ देखेर झस्किए र बाटोमुनि खस्न पुगे।

    विडम्बनावश, घाँटीमा नाम्लो अल्झिएर उनी एउटा रुखमा झुन्डिए। अरू भरिया आत्तिएर चिच्याइरहेका थिए। एकै निमेषमा नदी तरी वैरोचनले भरियाको उद्धार गरे, एक निमेषले ढिलो भएको भए ती भरिया मर्न पनि सक्थे। वैरोचनले उनलाई बचाएर फर्के।

    नदी तर्दा शरीर भिज्यो होला भनी उन्मना उनलाई आँचल ओढाइदिन नजिक गइन्। तर, वैरोचनको शरीर भिजेकै थिएन। उनी दौडेर नदी तरेका थिए। उनले नदी कसरी तरे भन्ने उन्मनाले देख्न पाइनन्, किनभने उनको ध्यान भरियामै केन्द्रित थियो।

    ‘तिम्रो शरीर भिजेको छैन त!’ उन्मना अनौठो मान्दै बोलिन्।

    वैरोचन पनि जिस्कँदै बोले -भिजेको थियो, मभित्रको सूर्यले सोस्यो, जसरी भर्खरै घोडचढी खेल्दा तिम्रो शरीरबाट निस्केको पसिना कति आँचलले सोस्यो, कति तिम्रै शरीरको तापले सुकायो।

    साँच्चि, तिमी पारि कसरी गयौ भन न!

    –जसरी नदी समुद्रमा जान्छ, जसरी चराहरू वासस्थानमा जान्छन्, जसरी घाम–जून उदाउँछन् र अस्ताउँछन्, त्यसरी नै म पारि गएँ। ठीक यतिखेर मेरो जीवन, मेरो ऊर्जाको धर्म नै पारि गएर उनलाई बचाउनु थियो।

    उन्मनाले आमाका वाणी सम्झिइन्- मानिसले अरूको हितको उद्देश्य राख्यो भने ठूलाठूला सिद्धि प्राप्त गर्न सक्छ।

    अझै उन्मनालाई उनको परीक्षा लिन मन भयो। अकस्मात् उनले घर जाने निर्णय गर्दै भनिन्, ‘ढिला भयो, चराहरूजस्तै वासस्थानमा पुगेर पूरा निद्रा निदाउनुपर्छ, म गएँ।’

    उन्मना आफ्नो घोडा भएतिर गइन्। वैरोचन बोले- भोलि पनि आजकै बेला यहीँ भेटौँ!

    उन्मना घोडा चढ्दै गर्दा बालुवामाथि लडिन्। सामान्य ढंगले लड्ने, दुखेको अभिनय गरी बालुवामा पल्टने अनि स्त्रीप्रतिको वैरोचनको धर्म र दृष्टिकोण जाँच्ने उनको अभीष्ट थियो, तर उनी यथार्थमै लड्न पुगी घुँडामा चोट लाग्यो।

    वैरोचनले उन्मनाको निधार र चोट लागेको ठाउँमा आफ्नो हात राखी केहीबेरमै निको पारे। उन्मना जाडो भयो भनी पल्टिरहिन्। वैरोचनले आफूसँग भएको रसायनको प्रयोग गरी आगो बाले। वैरोचनले आगोको एकातिर दुई घोडालाई राखे र अर्कोतिर उन्मनालाई काखमा लिएर बसे। यतिन्जेल वैरोचनले उन्मनालाई आफ्नो वास्तविक परिचय बताए।

    आगोले जिउ तात्दै गएपछि उन्मना बोलिन्, ‘आखिर बाहिरकै आगो आवश्यक भयो ! तिमीभित्र जगाएको सूर्यको के काम?’

    केही नबोली वैरोचनले क्षणभरमै रातभरिका लागि हुने मुढा तयार गरे। सबै मुढालाई आगोमाथि राखेर मन्दमन्द आगोको ताप आइपुग्ने ठाउँमा उन्मनालाई बोकेर लगे। त्यसपछि उनीहरू एक भएर सात घडीजति हराए। तृप्त भएपछि उन्मनाले वैरोचनलाई गहिरो चुम्बन गरिन्। त्यसपछि उनीहरू छुटे।

    भोलिपल्ट, उही समय उही स्थानमा भेटिने सल्लाह भएको थियो। यसपटकको भेटमा उन्मना ज्ञानका कुरा सुन्न मात्रै आशक्त भइन्। वैरोचनले उनको स्वास्थ्यावस्था र रजस्वलाको अवधिबारे सोधे। रजस्वलाका हिसाबले यसपटक उनको गर्भ रहने सम्भावना तीव्र थियो। पहिले व्यापारीहरूको संसर्गमा रजस्वलाको अवधि नमिलेकाले उनले गर्भधारण गरेकी थिइनन्।

    वैरोचन बोले-तिमीले पुत्र वा पुत्री जे जन्माए पनि पिताको रूपमा मलाई नचिनाउनू। तिम्रो पिता कोही हो, तर मलाई ख्याल भएन भन्नू। जे जन्मे पनि शिक्षादीक्षाका मेरो आश्रममा आउनू।

    ‘पुत्रपुत्रीलाई पिता किन नचिनाउने?’ उन्मनाले अचम्म मान्दै सोधिन्।

    हेर उन्मना, मानिसले आफ्नो परिचयलाई पितासँग जोड्न थालेको छ, आफ्नो प्रज्ञासँग होइन। हामीले हाम्रो सन्तानलाई पिता चिनाएनौ भने सुरुमा उनीहरूको मनले पिता खोज्न थाल्छ र भड्कन्छ, आफूलाई सम्हाल्दै अगाडि बढे भने अन्ततः उनीहरू प्रज्ञाप्रति आकृष्ट हुन्छन्, यो प्रकृतिको मूल ऊर्जा पहिचान गर्न र त्यसलाई हासिल गर्न सक्षम हुन्छन्।

    यो समाजमा मातृ वंश परम्परालाई सम्मानित गराउने अभ्यास पनि हामीले गर्नुपरेको छ। यो तिम्रो र मेरो योजना भयो, तिमी यसमा दृढ हुनुपर्छ कि तिमीले आफ्नो जीवनभर पुत्रलाई यो रहस्य खोल्ने छैनौ।

    –मातंगीपुरीमा पिताबिनाका थुप्रै छन्, उनीहरू किन ज्ञानतिर आकृष्ट भइरहेका छैनन्?

    मानिसको मनको प्रवृत्ति नै यस्तो हुन्छ, यसले सुरुमा छिटो प्राप्त हुने छोटो सुख खोज्छ। त्यसैले कैयौँ मानिस जीवनभर छोटाछोटा सुखकै पछाडि भौँतारिन पुग्छन्। यसरी भौँतारिनेहरू कथंकदाचित ज्ञान र प्रकृतिको मूल ऊर्जातिर आकृष्ट भए भने यिनले समाजको न्याय र हितका लागि धेरै काम गर्न सक्छन्। मातंगीपुरीबाट छोटो सुख खोज्दै निस्केका कतिपय अन्ततः मेरो आश्रममा पनि आइपुगेका छन्।

    यति वार्ता भएपछि उनीहरू आआफ्नो निवासतिर लागे। घरमा पुगेर पछिल्लो तीन दिनका सबै घटना उन्मनाले आमालाई बताइन्।

    शमना बोलिन् -वैरोचनले भनेबमोजिम गर्नू।

    (कथा सकिएको छैन, यसको दोस्रो भाग छिटै प्रकाशित हुनेछ।)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend