८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

चित्रकलामा जीवनको मुल्य खोज्दै ‘देवेन्द्र पौडेल’


जनमञ्च संवाददाता
  • १८ बैशाख २०७९ , आइतबार

  • चित्रकलामा जीवनको मुल्य खोज्दै ‘देवेन्द्र पौडेल’

    बागलुङ, १८ बैशाख– दश वर्षअघि बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा उनले पहिलोपटक एकल चित्रकला प्रर्दशनी गरे । महोत्सवमा आएका सयौं मानिसले उनको चित्र मन पराए । धेरै मानिसले किनेर लगे । कतिले प्रसंसायोग्य सुझाव लेखेर छाडे ।
    त्यसपछि उनलाई चित्रकलाको व्यवसायिकरण गर्ने चाहना पलायो । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ३४ वर्षिय सोबेन्द्र पौडेल अहिले चित्रको मात्र नभई चित्रकलामै जीवनको मूल्य खोज्न थालेका छन् ।
    पुराणका लागि बनाएको शिवको चित्र उनको पहिलो कला थियो । कक्षा ५ मा पढ्दा देखाएको क्षमता सबैले प्रशंसा गरेपछि उनले कलाकारिता रोजे । तर, पैसा कमाउने बिषय हो भन्ने कुरा भने महोत्सवमा बिक्री भएका चित्रपछि महसुस गरेका थिए । चित्रको मूल्य पाउने र प्रशंसा पनि बटुल्न पाएपछि उनले क्यानभासमा चित्र कोर्न थालेका छन् ।
    उनी जिल्लाको सफल चित्रकारको रुपमा चिनिन थालेका छन् । घरमै बसेर चित्र कोर्ने गरेका सोबेन्द्र प्रदर्शनीपछि भने गाउँ फर्केनन् । सदरमुकाममा सटर भाडामा लिएर निरन्तर खटिन थाले । अहिले पनि उनी दैनिक १५ घण्टासम्म कलामा घोत्लिन्छन् । काममा खटिन्छन् । २०६१ सालमा स्टारलाइन कलमले राजा बिरेन्द्र र रानी ऐश्वर्यको चित्र कोरेपछि धेरैको माग आयो । चित्रको महत्व बुझेपनि उनले मूल्य पाएका थिएनन् । २ सय रुपैयाँको फ्रेम ल्याएर चित्रसहित ५ सयमा बेच्थे । किन्नेले रमाइ रमाइ लैजान्थे ।
    घरपरिवारले जागिर खान दवाव दिइरहेको थियो । कलामा डुबेकोले जागिर नखोजेका उनले दशकको मेहेनतपछि भने आफ्नै सीपको कमाइ गर्न थालेका छन् । अहिले त उनले एउटै चित्र कोरेर ५ हजारसम्म कमाउन सक्छन् । ‘यति महंगो चित्र हुन्छन् भन्ने थाहै थिएन, काम मात्रै गर्थे, कमाइ भएको थिएन’ उनले भने, ‘कमाइ त अहिले पनि छैन, तर चित्रको मूल्य पाउन सकेको छु ।’ नेपाल आर्ट काउन्सिल र ग्यालरीमा पुगेर उनले चित्रको मूल्यसँगै चित्रकलामा जीवनकै महत्व बुझ्न पाएको बताए ।
    त्यसो त उनले कलाकारिता पढ्ने चाहना राखेका थिए । नेपाल ललितकला क्याम्पसमा पुगेर पढ्ने चाहना पारिवारिक अवस्थाले दिएन । उनले बागलुङकै पैयुँपाटामा उच्च माबि र धौलागिरि बहुमुखी क्याम्पसमा स्नातक पढे । तर पढाइ अर्कोतर्फको भएपनि उनको कलाको क्षमता भने मर्न पाएन । निरन्तर प्रयास गरेरै उनले कोरा कपडामा चित्र कोर्न थाले । ‘क्यानभास महंगो पर्ने भएकोले शुरु शुरुमा किनेर ल्याउन सकिन, पछि चित्रको मूल्य पाउन थालेपछि मात्रै ल्याउने गरेको छु’ उनले भने, ‘क्यानभासमा कोरेको चित्र दुइसय वर्षसम्म टिक्छ ।’ राणा प्रधानमन्त्रीहरुको चित्र समेत अझै दुरुस्त रहेको भन्दै उनले संरक्षण गरेमा आफ्ना चित्रपनि सयौंवर्ष टिक्ने बताए ।
    उनको चित्रकला यात्रामा अनौठा अनुभव छन् । जिउँदो छउन्जेल कसैले पनि बाबुआमाको चित्र कोरिदिन भन्दैनन् । जव अभिभावक गुमाउँछन्, त्यसपछि महंगो मूल्य तिरेर अभिभावकको चित्र कोर्न लगाउँछन् । ‘धेरैजनाले मरेका बाबुआमाको फोटो ल्याएर क्यानभासमा कोर्न दिन्छन्’ उनले भने, ‘त्यसैले धेरै रकम माग्न पनि सक्दिन ।’ उनले सानो फ्रेममा राखेर दिंदा १० हजारसम्म लिने गरेको बताए ।
    उनले प्रोटेट र ल्याण्ड स्केप दुवै चित्र कोर्ने गरेका छन् । ‘छोटो समयमा धेरै कमाउन ल्याण्डस्केप सजिलो छ, प्रोटेटमा धेरै मेहेनत पर्छ’ उनले भने, ‘मूल्यका हिसाबले ल्याण्डस्केपमा धेरै कमाउन सकिन्छ ।’ तर उनले अधिकांस प्रोटेट बनाउने गरेका छन् । एउटा प्रोटेट चित्र कोर्न १० दिनसम्म लागेको उनको अनुभव छ । उनले ऐतिहासिक पात्रहरुको पनि चित्र कोर्छन् । राजारानी, लक्ष्मीप्रसाद देवकोटा र भूपी शेरचन जस्ता कविको चित्र कोरेका छन् । बीपी कोइराला र मनमोहनको चित्र पनि धेरैनै कोरे । ‘बीपीको चित्र कांग्रेसीले भन्दा कम्युनिष्टले धेरै किनेर लगेका छन्’ सोबेन्द्रले भने, ‘कम्युनिष्टको नेता भएपनि बीपीको चित्र लगेर सजाउने धेरै छन् ।’ छिटफुट कांग्रेसीले मनमोहनको चित्र लगेको उनले बताए । ‘चित्रमा जीवनको मूल्य खोज्नेले राजनीतिक र भूगोलको बार ताड्ने रहेछन्’ उनले भने, ‘चित्रकलाले मलाई जीवनकै मूल्य सिकाएको छ ।’
    अब उनलाई ठूला चित्रमा पनि सोख जागेको छ । तर ती चित्र एउटैको डेढ लाखदेखि दुइ लाखसम्म पर्छन् । ग्रामीण क्षेत्रमा बसेर मेहेनतको कमाइ नहोला भनेर अगाडि बढ्न नसकेको उनले गुनासो गरे । ‘काठमाण्डौंमा भए एउटै चित्रको दुइतीन लाखमा खरिद गरिदिने भेटिन्छन्, यहाँ पाइदैन’ उनले भने, ‘तर केही चित्र भने कोरेरै छाड्छु ।’ कमाइ बढाउनका लागि उनले प्रिन्ट मेसिन राख्ने चाहना राखेका छन् । पत्नि पुष्पाले उनको मेहेनतको सम्मान गर्दै व्यवसाय धान्न थालेकी छिन् । ‘क्यानभासमा डुब्दा मैले खाने मेसो पनि पाउँदिन, त्यतिबेला पत्नि पुष्पाले पसल हेरिदिने गर्छिन्’ उनले भने, ‘चित्र कोर्दा हराएर दुइ तीन दिनसम्म भात पनि खान बिर्सदा आमाले गाली गरेको अझै सम्झन्छु ।’ त्यो मेहेनतले अहिले आफ्नै क्षमतामा उभिने बनाएकोमा उनी खुसी छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend