तस्बिर गुगलबाट
हरेक समयका आयामहरुसँग साक्षात्कार गर्ने मानिसले यही ब्रह्माण्डमा विद्यमान् हरेक मौसमसँग गहिरो सम्बन्ध गाँसेको हुन्छ । मौसमअनुसार प्रकृतिले रुप फेरिरहन्छ । प्रकृतिले आफ्नो कोखमा कहिले बसन्त फुलाउँछ त कहिले निरन्तर झरी बनेर आकाशको बाटो गरेर झरिरहन्छ । कहिले प्रकृति जमेर बसिदिन्छ । यही अनेक रुपमा विभाजित प्रकृतिका अनेक रुपमा मानव जीवनले साक्षात्कार गरेको हुन्छ । हरेक वर्षमा वर्षा ऋतुसँगै बर्सिरहने पानीको प्रवाहसँगै कति स्मृतिहरु मानिसका मनमा गाढा भएर पोतिन्छन् भने कति धुमिल हुँदै पनि जान्छन् । एकनासले बर्सिएको झरीले कयौँको घरबार लुटेका घटनाहरु वर्षेनी सुनिनुपर्दा यो मनमा पहिरो नगएको पनि होइन । तर पनि कता कता झरीको झङ्कारसँगै यो मनले पनि लय मिलाउन पुगेको छ अनि प्रत्येक वर्षमा झर्ने झरीका बुँदहरुमा सम्झनाहरु ताजा भएर मिसिन्छन् । प्रकृतिलाई साथी बनाएर उसैलाई नजिकको मानेर प्रकृतिसँगै खेलेर, लडेर यो जीवन आज यहाँसम्म आइपुगेको छ । जीवन अनुभूतिहरुको सँगालो न हो । म यो उमेरसम्म आइपुग्दा कति झरीसँग रहरले मित्रता गाँसेँ । कति झरीसँग बाध्यताले आफूलाई भिँजाएँ अनि अनुभूतिहरु सँगालेँ मनको कुनै कुनामा, जो कहिलेकाही त्यही समयमा मलाई पुर्याउँछ र यो मन रोमाञ्चित गराउँछ । मलाई जब अलि महिना पानी पर्दैन अनि पानी पर्नको लागि आकाशमा बादलले बिजुली बालेर सिंहनाद गर्दै बर्सिन खोज्छ तर पनि बर्सिन सक्दैन ।
फेरि त्यही क्रिया दोहोराइरहन्छ र अन्ततः बर्सिन्छ नि त्यति बेला बर्सिएको पानीका मोटा मोटा थोपासँग मेरो अगाध प्रेम बर्सिन्छ । मलाई त्यो समयभित्रको एकएक अंश अति प्रिय लाग्छ । अझ पानीका छिट्टाले माटोलाई स्पर्श गर्दा उठेको धुलो, धुलोसँगै मिसिएको सुवास, रुखो माटोले महिनौँपछि पाएको वर्षाको साथका कारण माटोको बास्ना अति अति सुगन्धित लाग्छ मलाई । म त्यो सुगन्ध नाकको फोहोरा फुलाउँदै, खुम्चाउँदै भित्र फोक्सोमा पुग्ने गरी तान्न पुग्छु । लाग्छ त्यतिबेला त्यो दिव्य पल त्यही अडियोस् । म भरपुर आफूलाई त्यो समयभित्र समायोजित हुन सकूँ र प्रकृतिको अनुपम उपहारलाई मन मस्तिष्कमा सदा सुरक्षित राख्न सकूँ उस्तै बास्नादार वर्षा बनाएर ।

लक्ष्मी थापा
सानो छँदा निरन्तर वर्षापछि घरछेउका बारीका कान्लाका काँपबाट ठाउँ ठाउँमा पानी रसाएर सानो धारो नै बन्थ्यो । पाइप हालिन्थ्यो अनि त बाल्टिन थापिन्थ्यो । ओहो ! त्यो अचम्मको खुसी । आँगन छेवैमा धारो । के चाहियो र ? पानी लिन अलि परको धारो धाउनुपर्नेलाई बिना हिँडाइ घरमै पानी । तर कति अबोधपन न त्यो पानी पिउन र घरका अन्य काममा प्रयोग हुन्छ भन्ने नै ज्ञात होस् तर अथाह खुसी पाइने । सायद त्यतिबेला निरन्तर पानी पर्दा कतिका घरबार उठिबास भए होलान् , कतिका खेतबारी डुबानमा परे होलान्, कतिले ज्यान गुमाए होलान् । तर त्यो बालापन यी सबै कुराबाट अन्जान, त्यसैले त अनन्त खुसीमा जीवन हरदम रमाइरहन सक्ने कति अद्भूत हुन्छ बालापन ।
वर्षाले आफूसँगै बजाउने सरगमको तालमा निस्फिक्री भएर नाच्दाका ती क्षण कति अलौकिक थिए । त्यो एउटा यस्तो समय थियो जुन समयमा ससाना मसिना कुराले पनि खुसी दिन्थे । सायद जीवनमा व्यवहारका भारी बोक्नु नपरेकोले होला । हुन त त्यो समयको जस्तै इच्छा, चाह अहिले पनि मनभरि पलाउँछन् । तर पनि सचेत भइन्छ हिजोआज उमेरका सिँढीसँगै खुसीका सिँढी टेक्न पनि । स्कुले जीवनमा पानी झम झम पर्थ्यो, पानीसँगै मन छमी छमी नाच्थ्यो अनि त कसले रोक्ने पानीमा भिँज्दै हात फिँजाएर पानीका एक एक बुँदसँग मस्तले खेल्न । साँच्चै त्यो स्कुले उमेर कति मीठो कति प्यारो हुन्छ है जो कोहीको लागि पनि ।
झरीले यो जीवनमा खुसीका खेती मात्र पनि गरेको त पक्कै छैन । दुई पटक त भाग्यले बचाएको छ । एकचोटि एक या दुई कक्षामा पढ्दै थिएँ कि, त्यतिबेला म र मेरो मामाको छोरा मेरो अहिलेको दादा तर त्यतिबेला अति मिल्ने नजिकको साथी । त्यसैले त नामै काटेर म सुदन भन्थेँ अनि तिमी सर्वनामको सामान्य आदार गर्थेँ । हामी हाम्रो बुढोमामाघर बिहेको लागि सिरुटार जाँदै थियौँ । सिपाडोल मामाघरदेखि सूर्यविनायकसम्म हिँडेर आयौँ र ट्रलीबस चढेर ठिमीमा ओर्लियौँ । ठिमीको फाँट भएर हिँड्दै गर्दा ठुलो पानी पर्यो । पानीसँगै हावाहुरी पनि ठुलै चलेको थियो । पानी र असिनाले बेसन चुटेर भिँजेको मुसोजस्तै भएका थियौँ अनि सँगै बहेको ठुलो हुरीले हुत्याएर एक छेउबाट अर्को छेउमा पुर्याउँथ्यो । हुरीले मानिसलाई जुरुक जुरुक उचालेर पछारेको कहिल्यै थाहा थिएन तर त्यतिबेला हामी स्वयम् यसको साक्षी थियौँ ।
म दादालाई ‘सुदन एकछिन त हामी रोकिएर एक ठाउँमा बसौँ न, उडायो हामीलाई हुरीले’ भन्थेँ । दादा ‘शिवा आइसक्यो घर अलिपर न हो नडराऊ’ भन्दै मेरो हात समातेर लड्दैपड्दै हिँडिराख्यौँ ज्यान जोखिममा पारेर । सास फेर्न कति गाह्रो भएको थियो त्यो समय । करिब आधाघण्टा जसरी यसरी हिँडियो । अहिले त्यो बाटोको मापन गर्दै छु ठाउँको अन्दाजीले यति समय लाग्यो होला भनेर । हामी जब बुढोमामाघर पुग्नुभन्दा अलि वर हाम्रा आमाबाबाका ठुलीआमाको घर रहेछ, त्यहाँ पस्यौँ । मलाई त खासै कसको घर हो थाहा थिएन । मभन्दा तिन वर्षले जेठो दादालाई थाहा थियो । त्यसैले त घरदेखि बुढोमामाघर जाने आँट पनि भयो दादालाई र दादाकै पछि लागेर हिँडे मामाघरकी हजुरआमाको र मेरी ममीको अनुमतिमा । हामी त्यहाँ पुगेपछि हाम्री हजुरआमाकी दिदी र उहाँकी सुत्केरी बस्न आउनुभएकी छोरीले हामीलाई लुगा फेराइदिएर नीला भइसकेको अनि लुगलुग कापेको हाम्रो शरीरलाई आगोमा तताउन लाग्नुभयो सँगै हाम्रा ममी र हजुरआमालाई गाली गर्दै तातो तातो झोलिलो कुरा खानदिनुभयो । त्यसपछि बल्ल हामी अलि ठिक भयौँ । तर कमता दुःख लागेको होइन कि बिहेका लागि लेराएको कपडा सबै भिँजेका थिएँ अनि लगाएर आएका कपडा पनि ।
त्यसमाथि अरुको ठिक नहुने लुगा लगाउनुपरेको थियो । भोलिपल्ट बिहानै झिस्मिसेमै मामाघरको हजुरबुबा हाम्रो हालचाल बुझ्नका लागि आउनुभएको थियो । हामीलाई सकुशल देखेर आँखाभरि आँसु पारेर धन्यवाद भगवान् भन्नुभएको याद छ मलाई । भगवान्लाई धन्यवाद दिनुको कारण पछि बुझियो कि हामीलाई त्यसरी हावाहुन्डरी, असिना र पानीले हिर्काएको र चुटेको दिन २०४४ साल फागुन २९ गते र.दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल चलिरहेको बेला मुसलधारे असिना पानी र हावाहुरीपछि भागाभाग हुने क्रममा ९३ जनाले ज्यान गुमाएका र सयभन्दा बढी घाइते भएका रहेछन् । नेपालको लागि सबैभन्दा दुखद खबर थियो । बेलुका हजुरबुबाले समाचार सुन्नेक्रममा यो अकल्पनीय खबर सुन्नुभएको रहेछ । सबैले त्यतिबेलाको त्यो खराब समयको प्रत्यक्ष वा अप्रत्यक्ष सिकार भएका थिएँ । त्यसमाथि हामी ससाना केटाकेटी । रातभरि हाम्रो सुरक्षार्थको लागि भगवान् पुकारा गर्नु भएको रहेछ मामाघरमा हाम्रा आफन्तले । अहिले पनि हामीले त्यतिबेला बाँच्नको लागि गरेको सङ्घर्ष सम्झँदा आङ सिरिङ्ग हुन्छ ।
अर्को घटना पनि त्यतिकै गाढा बनेर यो मन मस्तिष्कमा बसको छ । म कक्षा आठमा हुँदा हो, स्कुल छुट्टी भएपछि ममीको फुपूको घरमा गएकी थिएँ । काम परेकोले ममीले जानु भन्नुभएको थियो स्कुलबाटै । उहाँहरुको घर र हाम्रो घर एक बसस्टप तलमाथि थियो । घरबाट सिधा उहाँको घर जानको लागि बसको बाटो नगरी सिधै खेतैखेतको बाटो पनि जान मिल्थ्यो । म स्कुलबाट ममीको फुपूको घर गएँ । जान त गएँ तर घरमा काम गर्ने भाइबाहेक कोही थिएन । दिउँस ठूलो पानी परेको रहेछ । म स्कुलबाट फर्किदा पानी भर्खर रहेको थियो । फुपू हजुरआमाको घरमा कोही नभएकोले म तुरुन्तै फर्किहालेँ । बाटामा पर्ने खोला त्योभन्दा अघि त्यसरी बाढी आएर तर्न नसक्ने त कहिल्यै भएको थिएन । खोलो तर्न खोज्दा खोलाले बगाएर दश बाह्र हात तल पुर्याउँदा जसोतसो एउटा उत्तिसको हाँगो लच्किएर खोलामा आएको रहेछ । त्यही हाँगो समाउन पुगेछु र पाखा लाग्न सकेँ । ब्याग पूरै भिजेकोले रुन मन लाग्यो किताबकापी सम्झेर । आसपास कोही थिएन । खोला तर्न सक्ने आँट पनि थिएन । फर्केर फुपूहजुरआमाको घर जाने सोच पनि आएन । मात्र कसरी घर जान सकिन्छ भन्ने भयो । रुँदै रुँदै खोला तर्न धेरै पटक आँट गरेँ । ठरलाग्दो खोच, मनमा अनेक डर लिँदै खोलाको किनारै किनारै हिँडेँ कही तर्नको लागि अलि सकिने ठाउँ आउँछ कि भनेर । तर्नुपर्ने ठाउँभन्दा अलि माथि पुगेपछि बल्ल खोलो तर्न सकेँ अनि बाँचियो भन्ने पनि भयो । तर ब्याग पूरै भिँजेकोले क्वाँक्वाँ रुन चाहिँ रोहिरहेँ ।
वास्तवमा प्रकृति हाम्रो लागि मित्र र दुस्मन दुवै हो । कहिले पोल्टाभरि खुसी लिएर आउँछ त कहिले पहाड बनेर उभिन्छ । जुन बोझिलो समयलाई काट्नु त जसरी पनि छ । हिजोआज पनि वनजङ्गलको बाटो भएर घरसम्म आउने झरी अति मनपर्छ । वनमा पानी पर्दा आफ्नै किसिमको मनमोहक रङसँगै सुसेली हाल्दै अघि बढेको गति अति मनमोहक लाग्छ । एकतमासले आँखाले पछ्याइराख्छ त्यो अनुपम झरीको दृश्य ।
साहित्यपोष्टबाट