बागलुङ, ३१ असार– स्वास्थ्य कार्यालय बागलुङले डेंगु र स्क्रब टाइफस जस्ता रोगबाट बच्न विभिन्न सचेतना अभियान चलाएको छ । बगलुङमा पनि डेंगुका बिरामी देखिएपछि सरसफाई अभियान चलाएको हो भने स्क्रब टाइपसको समस्या पनि बेला बेला देखिने गरेको घिमिरेले जानकारी दिए ।
एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु लाग्दा ज्वरो आउने, आँखा र टाउको दुख्ने, हाडजोर्नी दुख्ने र रिगटा लाग्ने र वाकवाकी समेत हुने गर्छ । त्यसैले मोटर ग्यारेज, पानी जम्ने खाल्डा भएको स्थानमा बढी संक्रमण देखिने भएकोले कार्यालयको अगुवाइमा जनप्रतिनिधि, स्थानीय समेतले सफाइ अभियान गरेका हुन् ।
मुसामा पाइने किर्ना जस्तो किराको टोकाइबाट स्क्रब टाइफस रोग सर्छ । खेतबारीमा काम गर्दा, झाडीमा जाँदा यस्ता किराले टोक्ने खतरा हुन्छ । यस्तो किराले टोकेमा टोकेको स्थानमा घाउ देखिने, ज्वरो आउने, झाडापखाला लाग्ने, श्वासप्रश्वासमा असर गर्ने खतरा भएकोले सचेतना अभियान चलाउन लागेको घिमिरेको भनाई छ । मुसाका प्वाल टाल्ने, मुसा मार्ने तथा किराबाट टोक्ने संभावना भएको स्थानमा नजाने क्रियाकलाप गर्न पनि सुझाव दिइएको छ ।
हरेक बर्षातको समयमा यस्ता प्रकारका रोगहरु देखिने गरेकोले नियमित सफाइ गर्ने, मुसाजन्य र लामखुट्टेको टोकाइबाट बच्ने, छोटा कपडा नलगाउने, जोखिम भएको स्थानमा नजाने र जानै परे सचेत बन्नुपर्ने स्वास्थ्य कार्यालयले सुझाएको छ ।