नवलपुर, ९ साउन– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७\७८ मा गैँडकोटको बेरुजु बढेको हो ।
गैँडाकोटमा हालसम्म नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ । आव २०७६\७७ मा भन्दा आव २०७७\७८ नगरपालिकाको बेरुजु बढेको हो । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६\७७ सम्म गैँडाकोटमा चार करोड १५ लाख १८ हजार बेरुजु रहेको थियो भने आव २०७७\७८ मा पाँच करोड ४२ लाख ४४ हजार बेरुजु थपिएको छ ।
आव २०७६÷७७ को बेरुजुसमेत समायोजन र समपरीक्षणबाट फछ्र्यौट एवं आव २०७७\७८ को पाँच करोड ४२ लाख ४४ हजारसहित रु नौ करोड १९ लाख ८५ हजार बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयको प्रतिवेदनअनुसार नगरपालिकामा आव २०७७\७८ मा पाँच करोड ४२ लाख ४४ हजार बेरुजु रहेको छ । त्यस्तै आव २०७६\७७ मा दुई करोड ६० लाख दुई हजार, आव २०७५\७६ मा पाँच करोड ९९ हजार र आव २०७४÷७५ मा एक करोड ४२ लाख ६० हजार बेरुजु थियो ।
बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की रकम गरी हालसम्मको अद्यावधिक बेरुजु नौ करोड १९ लाख ८५ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।