पोखरा, १६ माघ – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले २०औँ संस्करणमा नयाँ च्याम्पियन पाएको छ।
१४ वर्षपछि फाइनल खेलेको एपीएफले उपाधि हात पारेकाे हाे।
एपीएफले उपाधिसँगै १० लाख १ हजार रुपैयांँ पुरस्कार पाएकाे छ। उपविजेता मनाङले भने ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाउनुपरेकाे छ।
पोखरा रंगशालामा भएकाे २०औँ संस्करणको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २-२ को बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रकेरबाट लिइएको हो।
ट्राइब्रेकरमा मनाङका लागि फ्याङकिन कुइटे, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्न सफल भए।
अफिज ओलावालेको प्रहार एपीएफका गोलरक्षकले बचाए।
एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड विनोङ गोल गर्न सफल भए।
खेलको २०औँ मिनेटमा युवराज खड्काको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको हो।
खेलको तेस्रो मिनेटमा ने मनाङका राजेश परियारको प्रहार एपीएफका गोलरक्षक कुरियामा युजाले बचाए।
खेलको सुरुवातबाटै आक्रामक रुपमा प्रस्तुत भएको एपीएफले पाँचौँ मिनेटमा कप्तान नवीन लामाको फ्रिकिक युवराज खड्काको हेडर पहिलो बारको नजिकैबाट बाहिरियो।
२५औँ मिनेटमा अर्मान्ड विडोउमको हेडर पोस्टकाे माथिबाट बाहिरियो। ३४औँ मिनेटमा मनाङका राजेशकै फ्रिकिक पोस्टकाे माथिबाट बाहिरिँदा बराबरीको मौका चुकायो।
खेलको ६७औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा दयानन्द सिंहले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८७औँ मिनेटमा मनाङका विश्व अधिकारीको फ्रिकिकमा फ्रयाङकलिन कुइटीले गोल गर्दै मनाङलाई २-१ को अवस्थामा ल्याए।
इन्ज्युरी समयको पहिलो मिनेटमै एपीएफका रवि थिङले गोल गर्दै खेललाई २-२ को अवस्थामा ल्याए।