काठमाडौं, २६ माघ – आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए का लागि नेपाली राष्ट्रिय टोली ओमान पुगेको छ ।
टि२० आई सिरिज खेल्नका लागि टोली बुधबार विहान ओमान पुगेको हो ।
मंगलबार नेपालबाट ओमान प्रस्थान गरेको नेपाली क्रिकेट टोली युएई हुँदै बुधबार स्थानीय समय अनुसार विहान ३ः३० बजे ओमानको मस्कट शहर पुगेको हो । नेपाली क्रिकेट टोलीको बुधबार नै पिसिआर परिक्षण समेत गरिएको छ । नेपालले विहीबार अभ्यास गर्नेछ ।
नेपालले विश्वकप छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत शुक्रबार घरेलु टोली ओमानसँग उद्घाटन खेल खेल्नेछ । विश्वकप छनोटमा एकै समूहमा रहेका यी दुई टोलीबीच टि२० आई सिरिजको नतिजाले स्तरमापन गर्नेछ । दुबैलाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछन् । शुक्रबार नेपाल र ओमानबीच खेल दिउँसो ३ ः ४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।
शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ । यी तीन खेलसँगै नेपालको विश्वकप छनोट तयारी पूरा हुनेछ ।
ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् ।
समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । उद्धघाटन खेलमा फागुन ६ (१८ फेब्रुअरी) मा नेपाल र ओमानबीचको खेल हुनेछ । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् ।