बेनी, २२ कात्तिक- म्याग्दीबाट सडकआश्रित ८ जनाको उद्धार गरेको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियानको क्रममा बेनीबजारबाट ८ जना सडक मानवको उद्धार गरिएको हो । सदरमुकाम बेनीबजारमा बेवारिसे अवस्थामा भेटिएका दुई बालक, एक महिला सहित ८ जनालाई उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेको बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिए ।
ेनीबजारमा चोरीजन्य गतिविधिमा संलग्न भएर आजित बनाएका दुई बालक र बराहपाखो सामुदायिक बनको ओडारमा बस्ने एक ब्यक्तिको उद्धारमा प्रहरीसहितको टोलीले सहयोग गरेको थियो । झापाकको मेची पुलबाट शुरु भएको अभियान मार्फत बेनीका तीन सहित एक सय ६५ जना सडकआश्रित मानवको उद्दार भएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए । सडकपेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । मानवसेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् ।
उद्धार यात्राको खर्च आनीछोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने सङ्कल्प गरेको छ । अभियान अन्तरगत बेनी नगरपालिकामा आएको टोलीलाई मेयर केसी र उपमेयर ज्योति लामिछानेले स्वागत गरेका थिए । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली २५ औं दिनमा बेनीमा आएको हो ।