बागलुङ, २ मंसिर- नेपाल परिवार नियोजन संघको ४२ औं केन्द्रीय सभा शनिबार बागलुङमा सम्पन्न भएको छ ।
सभाले चितवनका राजेन्द्र बहादुर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्षको उमेदवारी दिएका चार जनामध्ये निरन्जन प्रसाद श्रेष्ठ र राजेन्द्र बहादुर श्रेष्ठको मत बराबरी भएपछि गोलाप्रथाबाट राजेन्द्रबहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै केन्द्रीय कोषाध्यक्षमा बागलुङका निर्माणकुमार श्रेष्ठ ‘बासु’ निर्वाचिन भएका छन् । उनी जिल्ला शाखाका अध्यक्ष समेत हुन् । त्यस्तै केन्द्रीय सदस्यतर्फ महिला सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित भए । युवा सदस्यतर्फ प्रमिला खड्का र भागिरथी भट्ट निर्विरोध निर्वाचित भएका छन् । यौनिक तथा अल्पसंख्यक क्षेत्रबाट संजिया श्रेष्ठ, कानूनी क्षेत्रबाट चन्द्रमाया श्रेष्ठ, अर्थ सदस्य गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन् स्वास्थ्य सदस्यमा दिनेशमान सिंह प्रधान पनि निर्वरोध निर्वाचित भएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले बताए ।
केन्द्रीय सभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले नेपालको महिला स्वास्थ्य तथा सुरक्षित गर्भपतनको इतिहासमा परिवार नियोजन संघले अग्रणी भूमीका खेलेको बताए । नेपालमा अन्य संस्थाले सुरक्षित सेवा दिन नसकेको बेला संघले दिएको भूमिकाबाट सिकेर अझै आधुनिक सेवामा पनि साथ दिनुपर्ने बताए । त्यसका लागि आगामी नेतृत्वले योजना ल्याउने बेला भएको कसजुले बताए ।
कार्यक्रममा बागमती प्रदेश सभाकी सदस्य गीता गुरुङ, पूर्व केन्द्रीय सदस्य प्रविण शाक्य, योगेन्द्र कमाचार्यले मन्तव्य राखेका थिए । केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुको अध्यक्षता, महासचिव अर्जुन सिग्देलको संचालन र बागलुङ शाखाका अध्यक्ष निर्माणकुमार श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा महासचिव सिग्देलले प्रगती प्रतिवेदन र कोषाध्यक्ष ज्योती श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।