काठमाडौं, ११ असार– नेपाल एथलेटिक्स संघको आयोजनामा सुरु ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत १५ सय मिटर दौडमा सन्तोषी श्रेष्ठ र मुकेश पालले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार महिलातर्फ बागमती प्रदेशकी सन्तोषी र पुरुषमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण जितेका हुन् ।
सन्तोषीले निर्धारित दुरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरिन् । त्यस्तै आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने ४ मिनेट ५८.२ सेकेण्डसहित रजत प्राप्त गरिन् । एपीएफकी आशा राउत ५ मिनेट ०५.९ सेकेण्डसहित कास्य पाइन् । आर्मीकी राधिका श्रेष्ठ चौंथो, कर्णालीकी विमला कार्की पाँचौं र सुदूरपश्चिमकी माया साउद छैटौं स्थानमा रहिन् ।
पुरुषतर्फ मुकेशले निर्धारित दुरी ३ मिनेट ५६.७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ३ मिनेट ५८.८ सेकेण्डसहित रजत हात पारे । कास्य जितेका आर्मीका सुनिल सुनारले ४ मिनेट ०१.८ सेकेण्डको समय निकाले ।