काठमाडौं, २७ असार– आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ ।
नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ ।
नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन ।
नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।
सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।
लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।