काठमाडौं, नेपालमा तय भएको महिला साफ च्याम्पियनसिप फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुने जानकारी गराए । ‘महिला साफ दशरथ रंगशालामै आयोजना हुन्छ । यसबारे हामीले साफलाई जानकारी गराईसकेका छौँ,’ खड्काले भने ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।
बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।