काठमाडौं, २ पुस– कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राती पौने ९ बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् । मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।
अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।