पोखरा, १३ पुस– सहारा क्लब पोखराको आयोजनामा आगामी पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
२२ औँ संस्करणको सो फुटबल प्रतियोगिता पोखरा फुटबल रंगशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम (सुरज) गुरुङले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ म¥र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता हुनेछ ।
आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि गरेको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले ८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ बालकले आवासिय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।
सहारा क्लबले विगतका वर्षहरूमा झैँ यसवर्ष सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी ५० हजार पाँच रहेको छ ।