तस्बिर गुगलबाट
पोखरा, १२ असार– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ ।
मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।
सार्वजनिक गरिएको मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल भएका छन् । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट तीनमा परेका छन् ।
उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू उत्कृष्ट तीनमा छानिएका छन् । उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा पर्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
पोखरा स्पोर्टस् अर्वाडअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजारको साथमा ट्रफी प्रदान गरिने छ ।
यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमितिमार्फत कामलाई तीव्रता दिइएको मञ्चले जनाएको छ । मञ्चले २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।