बागलुङ, १६ असार– बागलुङमा १० औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला खेलकुद बिकास समितिले असार १६ र १७ गते बागलुङमा संचालन हुने १० औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
खेलमा सहभागीताका लागि जिल्लाका १० वटै पालिकामा पत्रकार गरि छनौट खेल पनि सम्पन्न भैसकेको र बागलुङ सदरमुकाममा जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्न लागिएको जिल्ला खेलकुद बिकास समितिका सचिव तारा शर्माले जानकारी दिए ।
प्रतियोगितामा भलिवल, कपर्दी, मार्सल आर्टस तर्फ तेक्वाण्दो, कराँते, उसु र एथलेटिक्सतर्फ हाइजम्प, लङ्जम्प, दौड लगायतका खेल समावेस हुने शर्माले बताए । जिल्ला स्तरीय खेल सम्पन्न भएसंगै उत्कृष्टलाई छनौट गरि यहि असार २३ र २४ गते हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
जिल्ला स्तरिय प्रतियोगितामा प्रथम हुनेलाई नगदसहित राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगदसहित मेडल र प्रमाण पत्र तथा तृतीय हुनेलाई नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष खड्काले बताए ।
प्रतियोगिता संचालनका लागि ३ लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता संचालनका लागि बिभिन्न उपसमिति पनि गठन गरिएको छ ।